अर्घाखाँची जिल्ला अदालत मुद्दा फछौंट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्ला अदालत मुद्दा फछौंट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फछौंट गरि उत्कृष्ट बन्न सफल भएको हो ।
कुल मुद्दाको ७०.९३ प्रतिशत मुद्दा फछौंट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछौंट गर्ने जिल्ला बनेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका १ सय ४९ थान र गत आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्धा रहेकोमा यस आर्थिक वर्ष भित्र ३ सय ५ थान मुद्दा फछौंट भएको अदालतका श्रेस्तेदार महेश खनाले जानकारी दिए ।
अर्घाखाँची पछी सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछी उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्दा फछौंट गरेको छ । 
अर्घाखाँची जिल्ला अदालतमा अब १ सय २५ थान मुद्दा मात्र बाँकी रहेका छन् । अदालतले गत आर्थिक वर्षमा ३ सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा ३०५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्यौट गरेको जनाएको छ ।