अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसँगै स्थानीयमा कोरोना भाइरसको डर हराउँदै गएको छ ।
सन्धिखर्क बजारदेखि गाउँसम्म न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना गर्न हुने गरिएको छैन् । बजार क्षेत्रमा समेत भौतिक दूरीको कमी कायम नगर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने क्रम पुनः दोहोरिएको छ । कोरोनालाई सामान्य रुपमा लिने गरिएको छ । गाउँँमा कोरोनालाई बिर्सिसके, मास्क प्रयोग गर्ने मान्छे भेटिनै गार्हो छ, फेरि पुरानै चहलपहल फर्किएको छ । जिल्लाभर राजनीतिक दल, संघ- संस्थाका कार्यक्रममा नियमित चलिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भए पनि दैनिक जिवनमा सहजता होस भन्दै व्यापार ब्यवसाय, यातायात, कार्यालय सञ्चालन लगायतका बिषयमा सहजिकरण सहित साउन १० गतेसम्म निषेधाज्ञा जारी नै राखेको छ ।
यस्तै पछिल्लो पटक जिल्लामा नयाँ संक्रमितमा कमी आएको देखिएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोना संक्रमितको उपचारका लागि छुट्टयाइएका शैयाहरु समेत खाली हुँदै गएका छन् ।
साथै पछिल्लो समयमा जिल्लामा स्वैच्छिक रुपमा कोरोना परीक्षण गर्नेको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको अनुभव छ । संक्रमण हुँदा आईसोलेसनमा बस्नु पर्ने र आफुलाई बिभेद भएको महसुस गर्ने भएका कारण पनि परीक्षण गराउन आउन नमानेको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीको भनाई छ ।
परीक्षण गराउन जानु प-यो भन्दा उल्टै आफुलाई केही नभएको भन्दै बताएको देखिन्छ । लक्षण कोरोनासंग मिल्दाजुल्दा देखिएका भएपनि लुकाउने गरेका छन्, यसले गर्दा संक्रमण फैलिन मद्दत गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ ।
उता जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०६ जना, भूमिकास्थान नगरपालिकामा ११०, शितगंगा नगरपालिकामा २०, मालारानी गाउँपालिकामा ३८, पाणिनी गाउँपालिकामा २२ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३०९६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३३८ जना, भूमिकास्थान नगरपालिकामा ६०१ जना, शितगंगा नगरपालिकामा ३४९ जना, मालारानी गाउँपालिकामा २९६ जना, पाणिनी गाउँपालिकामा २५६ जना र छत्रदेव गाउँपालिकामा २५६ जना संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा जिल्लामा ३२ जनाले कोरोना जितेका छन् । साथै जिल्लामा गत वर्षदेखि आजसम्म २६२८ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १११२ जना, भूमिकास्थान नगरपालिकामा ४७६ जना, शितगंगा नगरपालिकामा ३१७ जना, मालारानी गाउँपालिकामा २४७ जना, पाणिनी गाउँपालिकामा २२६ जना र छत्रदेव गाउँपालिकामा २५० जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २० जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा ११, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।