शोकमा सन्धिखर्क नगरपालिका र सबै वार्ड कार्यालयहरु साउन १७ गतेसम्म बन्द


अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणका कारण निधन भएपछि शोक मनाउन नगरपालिका र सबै वार्ड कार्यालय बन्द हुने भएका छन् ।
सन्धिखर्क नगरपालिकाले  एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष भुसालको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ।
नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा त्यस मातहतका १२ वटै वार्ड कार्यालयका अत्याबश्यक बाहेकका सम्पुर्ण काम आज सोमबारदेखि श्रावण १७ गतेसम्म बन्द गर्ने तथा सबै वार्ड र नगरमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो ।  
वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि सन्धिखर्क शोकमा डुबेको छ  ।  यस्तै आज ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ ।
वार्ड अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा  आइतबार मृत्यु भएको  थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
भुसालको काठमाडौं स्ठित पशुपति आर्यघाटमा  आइतबार अन्त्येष्टि गरिएको थियो । वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको पार्थिव शरिरमा एमाले नेता टोप बहादुर रायमाझीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको छ ।
वार्ड अध्यक्ष स्व. भुसालले किमडाँडा स्थित श्री जनता कृष्ण उच्च मावीका पुर्व प्राचार्य, शिक्षक युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष तथा सन्धिखर्क नगर सामाजिक परिचालन समितिका संयोजक, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य थिए ।
शिक्षकबाट राजिनामा दिएर वार्ड अध्यक्ष
किमडाडाँको श्री जनता कृष्ण मावीका प्रध्यानाध्यापक रहेका भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ बाट चुनाव जितेका थिए ।
भुसालले ७५६ मत लिएर वार्ड अध्यक्ष पदमा विजयी भएका थिए । भने विपक्षी नेपाली काँग्रेसका हुम प्रसाद बन्जाडेले ६९२ मत ल्याएका थिए ।  यस्तै उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का हरि प्रसाद भुसालले १४१ मत, राष्ट्रिय जनमोर्चाका चन्‍द्र प्रसाद बन्‍जाडेले १२२ मत ल्याएका थिए ।

अन्य समाचारहरु