स्वास्थ्य सेवा विभागले साउन २२ बाट देशभर कोरोनाको दोस्रो डोजको खोप अभियान सञ्चालन गर्न परिपत्र गरेको छ। विभागले देशभरका सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यसबारेको निर्देशन दिएको हो।
विभागको परिपत्रमा १९ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अध्यक्षता बसेको बैठकको निर्णयअनुसार खोप अभियान सञ्चालन गर्न निर्देशन दिइएको उल्लेख छ।
विभागका महानिर्देशक डा. दीपेन्द्रमण सिंहले गरेको परिपत्रमा भेरोसेलको पहिलाे मात्रा लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा दिने गरी साउन २२ देखि देशभरि खोप अभियान सञ्चालन गर्न भनिएको छ।
त्यस्तै, खोप लगाउन बाँकी रहेकाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अग्रिम नाम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
साथै विदेश जाने नेपालीलाई कोभिड– १९ खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने र यसका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० देखि सुरुवात गरी क्रमशः उपत्यका र अन्य जिल्लाहरूमा समेत गरिने र खोपको मात्रा पूरा गरेका सबैलाई विद्युतीय प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिइएको छ। नयाँ पत्रिकामा समाचार छ ।