लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताल परिसरमा निर्माण भईरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
संघिय सरकारको बजेट मार्फत निर्माण भईरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै प्लान्ट संचालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जानकारी दिए ।
गत असारमा कामको संझौता भएको र केही मेसीनहरु नआएकाले काममा ढिलाई भएको उनले बताए । प्लान्टको ‘वुस्टर’ मेसिन आउन ढिलाई भएकाले निर्माण सम्पन्न हुन समय लागेको हो । ‘वुस्टर मेसिन आएको थिएन,उनले भने,‘अहिले सामान आईपुगेको छ, प्राविधिकहरुले जडानकार्य सम्पन्न गरेपछी सञ्चालनमा आउने छ ।’ त्यसपछाडी अक्सिजनको समस्या नहुने उनले बताए ।
प्लान्टले दिनमा ७० वटा सिलिण्डर भर्ने क्षमता राख्छ । प्लान्टले २४ घंटामा ७० वटा ठुला सिलिण्डर भर्ने डा. गौतमले बताए । गत बैसाख/जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितीका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधी ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ८४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो।