अर्घाखाँचीका सिद्ध पुरुष मन्त्री सुनारको जीवन; ८८ बर्षको उमेरसम्म स्वयंपाक्य


सहयोगी” बि. सी.
वाङला, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङलाको कोटफेरामा १९९० फाल्गुन १६ गते जन्मनु भएका डिलाराम सुनार “मन्त्री सुनार” अहिले ८८ बर्षको हुनु भयो।
उहाँ एउटा आध्यात्मिक धार्मिक, शैक्षिक र सामाजिक ब्यक्तित्व हुनुहुन्छ। उहाँका ३ छोरा २ छोरी हुनुहुन्छ।२०५६ सालमा जीवन संगिनी गुमाएपछी स्वंयपाक्य ( आफै पकाएर ) हुनुहुन्छ। उहाँले दैनिक पुजापाठ नगरेसम्म कहिल्यै भोजन गर्नुहुन्न। उहाँले घरपरिवार बाहेक अरुले पकाएको मात्र होइन कि अरुले छोएको समेत खानुहुन्न। 
उहाँले कलकत्ता बस्दा दैनिक आफू बसेको स्थानमा माग्ने भिखारी आउँने र सधै उनिहरुलाई आफुले पकाएको खानेकुरा दिंदै गर्दा अन्तमा पकाएको भाडाकुँडा अन्नपात सबै सुम्पिएर १८ महिनासम्म त अन्नको दाना नै नखाई पानी फलफुलले जीवन बिताउनु भएको थियो। उहाँ २००८ सालमा बिबाह गरे पश्यात लगातार ५ वटा सन्तानको निधन पछि त्यो बेला पनि पैदल मार्फत नेपालका मुक्तिनाथ स्वर्गद्वारी पशुपतिनाथ  लगायत भारतका चारधाममा तिर्थ गरे पश्यात छोराछोरी हरु  जिबित रहन सुरु गरेका र उहाँ वाङला मात्र नभएर देशकै एउटा अनुकरणीय ब्यक्तित्व भएको “मोति  वाङला दर्पण बिशेशांक २०६८ सालमा प्रकाशित पुस्तकमा इन्जिनियर चन्द्रकान्त आचार्य ज्युले “डिलाराम मन्त्री सुनार” कर्मले ब्राह्मण भन्ने शिर्षकमा  सबिस्तार बर्णन गर्नु भएको छ। 
२०१८ सालमा घरमा पालेको गाईले बाछो पाएपछि त्यसलाई बोकेर हिंडाएर १८ दिनमा काठमाडौ पशुपतिनाथ मन्दिरमा लगेर छोडनु भएको उहाँ बताउनु हुन्छ। उहाँ साबिक वाङला गाबिसको अध्यक्षमा समेत निर्वाचनमा उठेर झिनो मतान्तरले पराजित हुनु भएको थियो। सदरमुकाम सन्धिखर्कमा आएपछि पाणिनी क्याम्पस,शिद्वेश्वर मन्दिर भक्तिटोला,तुम्कोट भगवती मन्दिर शान्तिबगैंचा पान्चायन मन्दिर मथुराको मन्दिर स्थापनामा महत्त्वपूर्ण  भुमिका खेल्नु भएको थियो।
सधै सफा शरीर र सफा मन हँसिलो अनुहार भएका अत्यन्तै सरल र सादगी जिबनका अनुकरणीय मन्त्री सुनारले सरस्वती मा बि सुर्यथुमलाई ७ मुरि धान हुने खेत जिबनोद्वार उच्च मा.बि. सरस्वती नि. मा. बि. मोति सामुदायिक पुस्तकालय लगायत  विभिन्न धार्मिक महोत्सव हरु लगाएत विभिन्न सार्बजनिक कार्यक्रमको लागि आबश्यक  आर्थिक सहयोग गर्नु भएको थियो र हालसम्म पनि सहयोग गरिरहनु भएको छ। सहयोग चाहिएर उहाँको घर गएपछि कोहि रित्तो हात नफर्केको धेरैको अनुभव छ।
अहिले पनि उहाँ आफ्नै खुट्टाले विभिन्न स्थानमा हिडन रुचाउनु हुन्छ। उहाँ साँच्चिकै रूपमा कम्युनिस्ट नीति बिचार र ब्यबहारमा प्रमाणित ब्यक्तित्व हुनुहुन्छ। उहाँको ब्यक्तिगत र सामाजिक गतिविधिले कहिल्यै दलित भनेर कोहि कसैले चिनेनन। उहाँलाई उहाँको कर्मले ब्राह्मणको रूपमा हेर्ने गर्दथे र त्यही रूपमा हेरिरहेका छन।