छोरीको बिहेमा सर्प दाइजो

पूर्व इनरुवाका अजिमले आफ्नी छोरी सबिलाको बिहेमा सकेजति सामान दिए तर कसैको पनि चित्त बुझेन। जतिसुकै महँगो र बढी सामान दिए पनि एउटा सर्प नदिँदा दुवै परिवारमात्र होइन उनको समुदायले नै अजिमले छोरीलाई केही नदिएजस्तो लाग्यो ।बिहे भएको तीन महिनापछि उनले ज्वाइँलाई दाइजोस्वरूप आफूसित रहेको चारवटामध्ये एउटा सर्प दिए । गाउँकै अफार मोहम्मदलाइ छोरी दिएका अजिमले भने, अब चित्त बुझेको छ, छोरी खुसीसाथ ज्वाइँसित छे ।

       हो पनि, उनका ज्वाइँ अफार अहिले सर्प देखाएर परिवार पाल्दै आएका छन् ।उनीमात्र होइन, मुस्लिम समुदायअन्तर्गत नट र बन्जारा समुदायले छोरीको बिहेमा अरू कुरा जति दिए पनि दाइजोमा सर्प दिनु अनिवार्य छ । सर्प देखाएरै गुजारा गर्ने यी समुदायकाले छोरीको बिहे गर्दा अन्य सामान जति दिए पनि नपुग्ने तर एउटा सर्प दिए पुग्ने सोचका साथ दाइजोमा सर्प दिने प्रचलन रही आएको स्थानीय मोहम्मद अजिमको भनाइ छ ।