नेपालमा मनसुन सक्रिय | देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना


दीपा चाैधरी गोरखापत्र
काठमाडौं, साउन ३० गते । काठमाडौँसहित देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना रहेको छ । नेपालमा मनसुन सक्रिय रहेकाले झरी पर्ने सम्भावना बलियो भएको हो ।
अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ । नेपालमा अहिलेसम्म मनसुनी सिजनमा पर्ने पानीको आधा पानी परिसकेको छ । मौसमविद् बरुण पौडेलले गोरखापत्र अनलाइनसँग भन्नुभयो,“मनसुनी सिजनमा पर्ने पानीको आधा पानी नेपालमा परिसकेको छ, सेप्टेम्बर अन्तिमसम्म यो चक्र रहन्छ, यो चार महिनाको अवधिमा कति पानी पर्छ पुरै अवधिपछि मात्रै थाहा हुन्छ ।”
मनसुनको अवधि चार महिनाको रहने गरेको उहाँले बताउनुभयो । मनसुनी न्युन चापीय रेखा नेपालमै रहेको र अहिले सक्रिय रहेकाले अबको केही दिन नेपालको केही स्थानमा झरी पर्ने सम्भावनासमेत रहेको उहाँले बताउनुभयो । “प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ,”उहाँले भन्नुभयो,“
आज देशका धेरैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने काठमाडौँलगायतका स्थानमा एक-दुई दिन झरी पर्ने सम्भावना छ ।” अहिले मनसुन सक्रिय रहेको उहाँले बताउनुभयो ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै, आज कोशी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्ने छ । नारायणी, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुन सक्ने बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सृष्टी महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,“ देशका केही ठूला नदीहरुमा बहाव बढे पनि सबैमा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।”
मौसमविद महर्जनका अनुसार तीन दिनसम्म त्यस्तो ठूलो बाढी आउने सम्भावना छैन । “ आगामी तीन दिन ठूलो बाढीको संकेट छैन,”उहाँले भन्नुभयो,“तिनाउ, पश्चिम राप्ती, बबईलगायतका मझौला नदीहरुमा बहाव बढ्ने तथा सबैमा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।” देशका धेरैजसो स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।