पूर्वराष्ट्रपति हमिद कारजाईले भने देश छाड्दिन | भीडले काबुल अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

एजेन्सी
साउन ३२ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ ।
तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ ।
मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।
उनले आफू राष्ट्रपति भवनमै रहिरहँदा धेरै मानिसको ज्यान जानसक्ने अवस्था भएकाले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण होस् भन्ने चाहेर पलायनको निर्णय लिएको तर्क गरेका छन् ।
त्यहीँ, पूर्वराष्ट्रपति हमिद कारजाईले भने आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट गरेका छन् ।
आफ्ना तीन छोरीका साथ देखिएका कारजाईले भनेका छन्, उनको परिवार ‘प्यारा काबुलवासी’का साथ छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् ।
उनले तालिबान र सरकारी सुरक्षाकर्मीहरुलाई नागरिकको जीउधनको सुरक्षाका लागि अपील पनि गरेका छन् ।
अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म अफगानिस्तानको राष्ट्रपनि बनेका थिए । उनी एशियामै सबैभन्दा बढी समय शीर्ष पदमा रहने नेता समेत बनेका थिए ।