एजेन्सी | तस्बिर: रोयटर्स
तालिबानले अफगानिस्तानमा ‘स्थिरता–शान्ति’ कायम गर्ने प्रतिवद्धता जनाएको छ।
तालिबानका उपनेताले भिडियो सन्देश जारी गरेर अबको समय अफगानिस्तानका नागरिकको सेवा गर्ने र उनीहरुको जीवनस्तर सुधार गर्ने रहेको बताएका छन्।
तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट भिडियो सन्देश सार्वजनिक गरेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेको हो।
तालिबान नेता मुल्लाह बरादर अखुन्दले भिडियो सन्देशमा भनेका छन्, ‘अब परीक्षणको समय हो, हामीले हाम्रो देशलाई सेवा प्रदान गर्ने छौँ, हामी पूरै देशमा स्थिरता ल्याउने छौँ, नागरिकको जीवन सक्दो सहज र समृद्ध बनाउन काम गर्ने छौँ।’
उनले आफूहरु जसरी जहाँसम्म आइपुगेका छौँ त्यो अनपेक्षित रहेको पनि बताएका छन्। यसअघि तालिबानका प्रवक्ता सुहैल शाहीनले तालिबान लडाकुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिएका थिए।