लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा निषेधाज्ञामा प्रहरीलाई गाली गलौच गर्नेलाई प्रहरीले मुद्दा चलाएको छ ।
सामाजिक संजाल मार्फत भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक अमर थापाले जानकारी दिए ।
चालक पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सन्धिखर्क नगरपालीका वडा नम्बर-१, शान्तीबगैँचा स्थित सार्वजनिक ट्याक्सीमा निषेधाज्ञा जारी भएको अवस्थामा फेसबुकमा सुचाना संप्रेषण गर्दै यात्रुहरु ओसार–पसार गरेको फेला परेपछी उनलाई प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरीलाई गाली–गलौज, धाकधम्की दिएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै निषेधाज्ञाका बेला अनावश्यक यात्रु राखि हिँडडुल गरेका ३ वटा ट्याक्सी नियन्त्रणमा लिई १ हजार पाँच सयका दरले जरिवाना सहित आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।
यस्तै अब निषेधाज्ञाका बेला फेसबुकमा यात्रु ओसार–पसार पोस्ट गर्नेलाई प्रहरीले कारबाही चलाऊने भएको छ ।