माधव नेपालको नवगठित पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद विस्तार नहुने


काठमाडौं, भदौं ३ । माधव नेपालको नवगठित पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।
असार २९ गते शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने एक नेता नेपाल पार्टी कार्वाहीमा परेपछि दलविहीन हुनुुभएको थियो ।
उहाँलाई दलयुक्त बनाउने अभिप्रायले सरकारले नयाँ अध्यादेश नै ल्याएको थियो । अध्यादेश ल्याएलगत्तै नेपालले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
काठमाडौंमा गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।
दाहालले भन्नुभयो, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ । यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ ।’
एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेकामा देउवाको आलोचना भइरहेका बेला मन्त्रिपरिषद विस्तार अझै लम्बिने भएको हो ।
दाहालले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र, संविधान र गणतन्त्र सिध्याउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको तर अहिलेको सरकारले ल्याएको अध्यादेश ती कुरालाई जोगाउन भएको तर्क पनि दाहालले गर्नुभयो । इमेज च्यानलमा समाचार छ ।