अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जनघनत्वसँगै बस्ती विकास तीव्ररुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।
सन्धिखर्क नगरपालिका लगायत अन्य पालिकाले ‘एक वार्ड, एक हेलिप्याड’ गराउने योजनाले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वार्डमा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारबासी बताउँछन् ।
जिल्लामा हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा सन्धिखर्कको टुडिखेल प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको छ । कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ । अर्घाखाँची अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा टुडिखेल प्राङ्गणमा भर पर्नुपर्ने अवस्था आएको छ ।
सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ । राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वार्ड वार्डमा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन ।
जिल्ला अस्पतालभित्रै हेलिप्याडको खाँचो छ, जग्गा छैन, जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन ।” टुडिखेल प्राङ्गणमा हेलिकप्टर अवतरण गर्दा सरकारी कार्यालय, विधालयहरुलाई असर पर्दै आएको छ । यस्तै हेलिकप्टर हेर्नेको समेत टुडिखेल प्राङ्गणमा भीड बढ्दा सुरक्षा चुनौतीसमेत बढेको देखिन्छ ।
जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा अवतरण गर्न हेलिप्याड बनाएकोले स्थानीय तहसँग समन्वय गरी जिपिएससहितको विवरण तयार गरिने भने पनि कुरामा सिमित रहेको छ । टुडिखेल प्राङ्गण बाहेक सन्धिखर्क बजारका अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको देखिन्छ । कोरोना सङ्कटमा हेलिकप्टरबाट सङ्क्रमितको उद्धार व्यापक भएकाले जिल्ला अस्पताल लगायत वार्ड वार्डमा हेलिप्याड आवश्यक भएको देखिन्छ ।
उता जिल्लाबासीहरुले ढाकावाङ, धारापानी, ढिकुरा, धनचौर, बागी, नरपानी, किमडाँडा, वाङ्ला, अर्घा, खाँचीकोट लगायत सबै ठाउँबाट विरामीलाई वा कुनै उद्धार गर्न परेमा टुडिखेल प्राङ्गणमा ल्याउन पर्ने हटाउन माग गरेका छन् । प्राय खेलकुद प्रतियोगिता, कार्यक्रम हुने टुडिखेल प्राङ्गणमा हेलिप्याड राख्न नहुने बजारबासीको भनाई छ ।
जिल्लामा आर्थिक हैसियत राम्रो भएका भेटघाट, घुमघाम, चुनावी प्रचार तथा चाडपर्वमा घर फर्कदासमेत हेलिकप्टरको प्रयोग गर्दै आएका बताइएको छ ।