अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीले व्यवसाय खोल्न पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीले बुधवार व्यवसाय खोल्न पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
कोरोनाका कारण चपेटामा परेका सम्पुर्ण व्यवसायी लगायत होटल तथा रेस्टुरेन्ट व्यवसायीले श्रावण १६ गतेदेखि जिल्लामा गरिएको निषेधाज्ञालाई केही खुकुलो गराएकोमा स्वागत गर्दै होटल तथा रेस्टुरेन्ट व्यवसायहरुलाई पनि मापदण्ड अनुसार स्वास्थ र शुरक्षाको मापदण्ड अपनाई संचालन गर्न पाउन माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी पौडेललाई संघका अध्यक्ष मोहन सिंह ठकुरी तथा महासचिव बिष्णु प्रसाद बन्जाडेबाट हस्ताक्षरित ज्ञापनपत्र बुझाएका थिए ।
उता जिल्लामा जिल्लाका यातायात, हाेटल, रेष्टुरेन्टहरु लगायतका व्यवसायीहरुले मापडण्ड पालना गरी सम्पूर्ण क्षेत्र खोल्न माग गरेका छन् । उनिहरुले सदाका लागि निषेधाज्ञा अन्त्य गर्न अनुरोध गरेका छन् । व्यवसायीहरुले निषेधाज्ञा भन्दा खोप ल्याउन तिर ध्यान जाहोस्, भन्दै अब १८ वर्ष माथि सबैलाई खोप लगाउन माग गरेका छन् ।
उता जिल्लालाई जनप्रतिनिधीहरुले समयमा खोप ल्याउन पहल नगरेको भन्दै जिल्लाबासीहरुबाट तिव्र आलोचना भएको छ । उनिहरु भन्छन्; जिल्लामा अहिले चाहिएको भनेको खोप हो, अर्घाखाँचीको तुलनामा अन्य जिल्लाले बढी खोप पाएका छन् तसर्थ तुरुन्त खोप ल्याउन पहल होस् ।
डिसिसिएमसी अर्घाखाँचीको बैठकले १३ औं पटक पुन: आजदेखि आगामी भाद्र १८ गते शुक्रबार राती १२:०० बजेसम्म निषेधाज्ञा थपेको छ । भने जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात र पसलहरु बिहान ५ बजेदेखि वेलुका ६ बजेसम्म खुल्न दिने भएको छ ।
हाेटल, रेष्टुरेन्टहरुले प्याकेजिङ वा टेक अवे सेवा गर्न पाउनेछन् । यस्तै सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खोल्न दिने बताइएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिने भएको छ ।
यस्तै सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।
जिल्लामा विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।