२०७८ भाद्र १२, शनिवारमा प्रकासित
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने बताउनु भएको छ ।
नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उहाँले प्रमादेश बाट निर्मित वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउनु भयो ।
उहाँले अदालतले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिका माथि ठाडो हस्तक्षेप गरेको बताउनुभयो । उहाँले अहिले मुलुकमा जनादेश माथि प्रमादेशले शासन गरेको भन्दै दलिय व्यवस्था माथि प्रहारगरी निर्दलिय व्यवस्थाको सुवात गरिएको धारणा समेत राख्नुभयो ।
नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोईटिएर गएको बताउनुभयो । लहलहैमा लागेर सिमित नेताहरू वाहिरीएको भएपनि आम कार्यकर्ता र जनताले नपत्याएको भन्दै उहाँले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी समेत गर्नुभयो ।
अर्घाखाँची जिल्ला बाट लगातार ३ पटक सांसद जित्दै आउनु भएका पुर्व उपप्रधानमन्त्री रायमाझीले आफु मन्त्री , सांसद भएपनि वा नभए पनि जिल्लाको बिकासमा कमि आउन नदिने बताउनुभयो । उहाँले अरुले ५० बर्षमा गर्न नसकेको काम १३ बर्षमा गरेर देखाएको दावी समेत गर्नुभयो । उहाँले केही व्यक्तिहरुले कांग्रेसको सरकार आएपछि एयरपोर्टको कामले तिव्रता पाएको भन्दै जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाउनु भयो । एयरपोर्ट निर्माणको लागि चैतमा नै ठेक्का लागेको र नियमित प्रक्रिया अनुसार काम अगाडि बढेको उहाँको भनाइ थियो । रायमाझीले कसैले चाहेर पनि जिल्लाको बिकास नरोकिने भन्दै आफुहरु निक्कै चनाखो भएर लाग्ने समेत बताउनुभयो । जिल्लाको विकास रोक्ने ,बजेट कटौती गर्ने गरिए जनता चुप लागेर नबस्ने समेत उहाँको चेतावनी थियो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरे , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल,जिल्ला कमिटीका सहसंयोजक पिताम्वर भुसाल ,सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता लिला जि.सी. लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।