अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) को २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ ।
समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।
समानान्तर कमिटीबाट रुपमान्तरण हुँदै गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष नेता रामबहादुर चौहानले अर्घाखाँचीडट्कमलाई भने; “अब बढिमा एक हप्ता भित्रमा नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटीलाई नेकपा (एकीकृत समाजवादी ) मा रुपान्तरण गर्ने तयारी भैरहेको छ । अब ७० सदस्यीय जिल्ला कमिटीलाई नेकपा ( एकीकृत समाजवादी ) मा रुपान्तरण गर्दा करीब २ सयको हाराहाराहारीमा बिस्तार गरी रुपान्तरण गरिने छ । सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । केवल प्रक्रिया पुरयाउन र औपचारिकता दिन मात्रै बाँकी छ ।
यस्तै चौहानले भने; “अब जिल्ला कमिटी बिस्तार गर्दा अर्घाखाँची जिल्लाका सबै पालिका र वार्ड समेत समेटेर बिस्तार गरिने छ । त्यति मात्रै होईन, अब केही दिनमा जिल्लाका सबै पालिकामा पार्टीका पालिका कमिटी, धेरै जसो वार्डमा वार्ड कमिटी, अनेरास्ववियुको बृहत जिल्ला कमिटी, अन्य जनसंगठनका जिल्ला, पालिका र वार्ड कमिटी समेत बिस्तार गर्ने योजना तय भैसकेको छ ।”
उता एमालेले एकीकृत समाजवादीको संगठन विस्तारमा रोक्ने तयारी गरेको छ भन्ने प्रश्नमा चौहानले भने; “हाम्रो संगठन बिस्तारलाई बाधा पुरयाउने, रोक्ने र अबरोध गर्ने दिवा सपना कसैले नदेखे हुन्छ । सुपो ठटाएर हात्ती तर्साउने खेल नखेल्दा हुन्छ । यदि कसैलाई भिडन्त निम्त्याउने रहर छ भने पहिला तिथिमिति तोकेर टुडिखेलमा कुस्ती खेलौ, बल जाचौ र भिडन्तको तयारी गरौंला । हामी संबैधानिक अधिकारको प्रयोग गरेर गाउमा मात्रै होईन , संगठन बिस्तारको निम्ति जनताको घर- घर र व्यक्ति – व्यक्तिमा पुग्छौं ।
उनले भने; “हामी सित सम्बन्ध सुमधुर बनाउने कि बिगार्ने त्यो एमालेको हातमा छ । उसलाई रोजी हामीलाई छोडी । उ जसरी हामी सित प्रस्तुत हुन्छ , हाम्रो पार्टी त्यसरी नै प्रस्तुत हुन तयार रहेको व्यहोरा अनुरोध गर्दछु । साथै हाम्रो बाटो उज्ज्वल छ , हाम्रो उद्देश्य सफा छ । जनता हाम्रा साक्षात भगवान हुन । हामी जनता र राष्टप्रति सदैव उत्तरदायी छौँ । हामी सकेसम्म राम्रो मात्रै गर्छौ , यदी नसके नराम्रो गर्दै गर्दैनौ । यो नै हाम्रो प्रतिबद्धता हो । हामी सम्बन्ध बिगार्न चाहदैनौ ।”
यस्तै “नेकपा (एकिकृत समाजवादी)” पार्टीलाई जिल्ला कै सबैभन्दा ठुलो र शक्तिशाली पार्टी निमार्ण गर्ने समेत अध्यक्ष चौहानले प्रतिबद्धता जनाए । साथै जिल्लाभर संगठन विस्तार गर्न लागेको एकीकृत समाजवादीलाई एमालेले रोकावट गर्ने भएको छ । कुनै वार्डमा पनि एकीकृत समाजवादीको कमिटी निर्माण गर्न नदिन अन्तरिक तयारी अनुसार एमालेले कार्यकर्ता परिचालन गरेको बताइएको छ ।