अर्घाखाँचीमा निषेधाज्ञा हट्यो | सभा, सम्मेलन, मठमन्दिरमा भाद्र २८ गतेसम्म रोक

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा अझै भाद्र २८ गते सोमबार राती १२:०० बजेसम्म रोक लगाउने गरी अन्य सबै खोल्ने निर्णय गरेको हो । 
साथै  बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय  लगायत  सबै खुल्ने छन् । 
 अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात हाेटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि  बेलुका ६ बजेसम्म  खुल्ने छन् ।  यस्तै   सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खुल्ने छन् । 
साथै जिल्लाभरका विद्यालयहरु सञ्चालन गर्ने निर्यण  स्थानिय तहलाई जिम्मा दिने बताए पनि  अझै भाद्र २८ गतेसम्म रोक लगाईने भएको छ । तर जिल्लाका सबै स्थानिय तहले धामाधम विद्यालयहरु सञ्चालन गर्न थालेका छन् । उता शितगंगा नगरपालिका सम्पूर्ण विधालयहरु आईतबारदेखि खुल्दै छन् । 
जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   
यस्तै सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा अझै भाद्र २८ गतेसम्म रोक लगाईने भएको छ । 
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । जिल्लामा १३ औं पटक  भाद्र १८ गते शुक्रबार राती १२:०० बजेसम्म निषेधाज्ञा थपेको थियो ।  जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको थियो । ​
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।