अर्घाखाँचीमा नेपाल निजामती कर्मचारी यूनियनको ३२ औं स्थापना दिवस मनाइयो


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीले शनिबार ३२ औं स्थापना दिवस मनाएको छ । 
नेपाल निजामती कर्मचारी यूनियनको ३२औं स्थापना दिवसको अवसर पारेर यूनियन अर्घाखाँचीका पधाधिकारी तथा कर्मचारीहरुले आज अर्घाखाँची अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै प्रवचन कार्यक्रम सम्पन्न गरेका हुन । बिहान साढे ८ बजे अर्घाखाँची अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरे पश्चायत यूनियनले अस्पताल प्रांगणमा प्रवचन कार्यक्रम गरी कार्यक्रम सम्पन्न गरेको हो ।
फलफुल वितरण तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कँंग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनाल मुस्कानले कर्मचारी यूनियन अर्घाखाँचीले जिल्लामा विभिन्न सामाजिक र सृजनशील कार्यहरु गर्दै कोभिडको समयमा मास्क, स्यानिटाईजर जस्ता स्वास्थ्य सुरक्षा सामग्री वितरण तथा बिरामीहरुलाई विभिन्न समयमा फलफुल वितरण गरी स्वास्थ्य लाभको कामना गर्ने लगायतका उदाहरणीय कार्यहरु गर्दै आइरहेको बताउनु भयो । उहाँले कर्मचारी भनेका राष्ट्रको स्थायी सरकारका प्रतिनिधि भएको हुनाले राष्ट्रसेवकहरुले सरकारका काम कारबाहीहरुमा सहयोग गर्ने र सेवाग्राही प्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कँंग्रेस अर्घाखाँचीका उपसभापति शान्ता भण्डारी, नेपाली काँग्रेस अर्घाखाँचीका संगठन विभाग प्रमुख कृष्ण खनाल, अर्घाखाँची अस्पताल प्रमुख डाक्टर राजेन्द्र जीसी, नेपाल बिधार्थी संघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, लगायत नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका पधाधिकारीहरु र नेपाल निजामती कर्मचारी यूनियन सम्बद्ध राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका सचिब रबी अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन जिल्ला उपाध्यक्ष माधव अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कर्मचारी यूनियन जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओशनले धन्यबाद मन्तव्य सहित कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।