अर्घाखाँचीमा एकीकृत समाजवादीद्धारा आफ्नो पार्टीमा आउनेलाई उपप्रमुख,वडाअध्यक्ष पदको अफर

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नयाँ पार्टी नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले एमालेका जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा आउन प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षको पद अफर गरेको छ । 
अर्घाखाँचीमा एकीकृत समाजवादीले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा आएमा आगामी स्थानिय निर्वाचनमा प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षको पद अफर गरेको हो ।
एकीकृत समाजवादीले जिल्लाभर निर्वाचन आउनु भन्दा आधा बर्ष पहिल्यै तपाईं गठबन्धनको एकल उम्मेदवार भन्दै प्रत्येक पालिका र वार्डमा दर्जनौ ब्यक्तिलाई पालिकाको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षको टिकट अफर गरेका छन् ।
एकीकृत समाजवादीका जिल्ला नेताहरुले सबै ६ पालिका, वार्डमा एमालेका जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई अबको स्थानिय निर्वाचनमा हामी समाजवादी, कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र गठबन्धन गर्छौं, एमालेमा रहेर केही पाउनुहुन्न, तपाईंलाई उम्मेदवारी ग्यारेन्टी लिन्छौ भन्दै फोनबाट, भेटेर अफर गरेका छन् । एमालेका जनप्रतिनिधिहरुले बताए अनुसार सम्पर्क गरे जति सबैलाई उनिहरुले जिल्ला कमिटी सचिबालय सदस्य तथा उम्मेदवारको अफर गरेका छन् । 
फोन उठाउने जती सबैलाई जिल्ला कमिटी सचिबालय सदस्य र पालिका उपप्रमुख, वार्ड अध्यक्षको उम्मेदवारी ग्यारेन्टी गरेका छन् । हालसम्म एकजनाले पनि पेस्की उम्मेदवारी स्वीकारेका छैनन् ।
नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा बस्ने समेत आवश्यक सदस्य संख्या नपुग्ने अबस्था आएपछि चुनावमा गठबन्धन हुने र त्यसको उम्मेदवार तपाईलाई बनाउछौ, सरकार हाम्रा  भएको सरकारी नियुक्ति दिलाउछौ भन्दै अरु पार्टीलाई समेत लगाएर विभिन्न प्रलोभन देखाएर नयाँ पार्टीमा तान्ने कोसिस गरिरहेको एमाले नेताहरूको भनाइ रहेको छ ।   
हालसम्म सिद्दी भुसालले सन्धिखर्क नगरपालिका मेयरमा दाबी गरेको सूचना छ भने अन्य पालिकामा प्रमुख पदमा कसैको पनि दावी रहेको देखिएको छैन् । पार्टी प्रमुखले उप प्रमुख र वार्ड अध्यक्षको पदमा मात्र टिकट दिनु ६ पालिका मध्ये सन्धिखर्कमा मात्र प्रमुखको दावी गर्नुले अर्घाखाँची जिल्लामा नेकपा समाजवादी पार्टीको असाध्यै कम प्रभाव रहने देखिन्छ । 
बिगतमा माधव नेपाल पक्षमा देखिएका नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष जीवनारायण कोइराला, उपसचिव प्रेम नारायण गैरे, सचिवालय सदस्य कुलदिप भुसाल, भबिस्वर पाण्डे, सरोज भुसाल जस्ता प्रभावशाली नेताहरुले पार्टी एकतामा जोड दिएपछि एमालेका कुनै पनि प्रभावशाली नेताहरु बिभाजनको पक्षमा देखिएका छैनन् यसले गर्दा अर्घाखाँचीमा एमालेको बिभाजनले खासै असर नपार्ने विश्लेषण गरिएको छ ।
   
नयाँ दल रोज्न निर्वाचन कार्यालयमा सनाखत गर्न आएका केही जनप्रतिनिधिहरु पनि समाजवादी पार्टीको बिचारबाट प्रभावित भएर भन्दा पनि काङ्ग्रेस र माओवादीको उक्साहटमा र आगामी चुनावमा गठबन्धन हुन्छ र फेरि पनि जनप्रतिनिधि बन्न पाइन्छ कि भनेर अवसर छोप्न एकीकृत समाजवादी रोजेको भन्ने एमाले पक्षको भनाई छ । 
नयाँ दल रोज्न निर्वाचन कार्यालय सन्धिखर्कमा आएका स्थानीय तहका जनप्रतिनिधिसँग बुझ्न खोदा उनले अब एमाले र समाजवादीमा बिचार र  सिद्धान्तमा त खासै फरक नभएको तर एमालेले आफूलाई फेरि पनि उम्मेदवार बनाउछ भन्ने बिश्वास नभएकोले गठबन्धनबाट चुनाव जितिन्छ कि भनेर आफूले नयाँ दल रोजेको प्रतिक्रिया दिए ।
अर्घाखाँचीमा अहिलेसम्म एमालेका १ उपाध्यक्ष र ५ वार्ड सदस्य गरि ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले भदौ २२ गतेसम्म सनाखत समयसीमा दिएको छ ।   
उता समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बनाउने नेता राम बहादुर चौहानले  बताउदै आएका छन् । तर पनि अहिलेसम्म एकीकृत समाजवादीले जिल्ला कमिटी गठन गर्न सकेको छैन् ।