अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालय देशभरका ७७ वटै जिल्लामध्ये अति उत्कृष्ट कार्यसम्पादन सहित प्रथम बन्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अर्घाखाँची जिल्ला प्रशासन अब्बल बन्न सफल भएको हो ।
अर्घाखाँची प्रशासनले कार्यसम्पादन मुल्याङ्कनमा ए प्लस ग्रेडमा पर्न सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
उनका अनुसार गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७७/७८ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सम्पुर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भुुमिकाको लागि हार्दिक आभार व्यक्त गरेका छन् ।