सन्धिखर्कमा भाेली एमालेले कार्यकर्ता भेला गर्दै, एकीकृत समाजवादीद्धारा आफ्ना कार्यकर्तालाई नजान सुचना जारी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (एमाले)ले भाेली मंगलबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।   
एमालेले भाेली मंगलबार बिहान ११ वजेदेखि सन्धिखर्कको सभागृहमा बृहत कार्यकर्ता भेला गर्ने भएको हो ।   
कार्यकर्ता भेलामा पार्टी जिल्ला कमिटीका सम्पुर्ण सदस्यहरू, पार्टी प्रदेश बिभाग, प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मंचका सबै, जिल्ला सल्लाहकार, जिल्ला जेष्ठ कम्युनिष्ट मंच, जिल्ला विभाग, सबै जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीका, पार्टी गाउँ/नगर कमिटीका, पार्टीबाट निर्वाचित स्थानीय तहका सबै जनप्रतिनिधिहरू, पार्टीका वार्ड कमिटीका सदस्य तथा टाेल कमिटीका पदाधिकारी लगायतलाई अनिवार्य उपस्थितिका लागि अनुराेध गरेको छ ।
पार्टी विभाजनपछि जिल्लामा कुनै असर नपरेको सन्देश दिन एमालेले भेलामा हजार बढी कार्यकर्ता उतार्ने तयारी गरेको छ ।    
उता नेकपा (एकीकृत समाजवादी) ले एमालेको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा नजान आफ्ना कार्यकर्तालाई ६१ वटा वार्डमा सुचना जारी गरेको छ । 
जिल्लामा  नेकपा (एमाले) छोडी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम लगायत शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाबाट निर्बाचित वार्ड सदस्य गोबिन्द प्रसाद पोख्रेल र शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीबाट निर्बाचित वार्ड सदस्य जिबलाल क्षेत्री, नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, बाँगीका एमाले वार्ड कमिटी अध्यक्ष समेत रहेका मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका वार्ड सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टीमा सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गरेका थिए ।