अर्घाखाँचीका सम्पूर्ण मठ मन्दिर, पर्यटकीय स्थलहरु खुले | केही भीडभाड हुने क्षेत्रमा असोज ७ गतेसम्म रोक


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सम्पूर्ण धार्मिक मठ मन्दिरहरु भोली मंगलवारदेखि खुल्ने भएका छन् ।
कोरोनाका कारण गत वैशाख २१ गते मंगलवारदेखि  बन्द भएका सुपा देउराली मन्दिर लगायतका धार्मिक मन्दिर तथा धार्मिक पर्यटकीय स्थलहरु भोली मंगलवारदेखि नियमित खुल्ने भएका हुन् ।    
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा अझै असोज ७ गते बिहीवार राती १२:०० बजेसम्म रोक लगाउने गरी अन्य सबै खोल्ने निर्णय गरेको छ ।
अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात हाेटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि  बेलुका ८ बजेसम्म  खुल्ने छन् ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय,   सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै पहिले नै खुलेका छन् । 
साथै जिल्लाभरका विद्यालयहरु सञ्चालन अनुमती दिएको छ । तर जिल्लाका सबै स्थानिय तहले धामाधम विद्यालयहरु सञ्चालन गर्न थालेका छन् ।  
जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   
यस्तै सभा, गोष्ठी, सम्मेलन, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा अझै रोक लगाईने भएको छ । 
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ ।   जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको थियो । ​
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी गरिएको थियो ।