अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन नेकपा (एमाले) ले कार्यकर्ता भेला आयोजनालाई व्यापक बनाएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले जिल्लाभर गाउँ – गाउँमा कार्यकर्ता भेला, बैठकको आयोजना गरिरहेको हो ।
एमालेले गत भाद्र २९ गते मंगलबार सन्धिखर्कको सभागृहमा बृहत कार्यकर्ता भेला गरेको थियो । पार्टी विभाजनपछि जिल्लामा कुनै असर नपरेको सन्देश दिन एमालेले कार्यकर्ताको ठुलो उपस्थितीमा भेला गरेको देखिन्छ ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार एमालेले दैनिक जसो जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका वार्डहरुमा कार्यकर्ता भेला, बैठक गरिरहेको छ ।
पार्टी विभाजन भए पनि ०७५ जेठ २ गतेको अवस्थामा फर्काउदै चेतनारायण आचार्यलाई जिल्ला अध्यक्ष, जिवनारायण कोईराला उपाध्यक्ष, तोजबहादुर रायमाझी सचिव र प्रेमनारायण गैरेलाई उपसचिव मानेर पुरानो कमिटी व्युँत्याएको छ।
एमाले छाडेर माधव नेपालको समाजवादी पाटीमा तत्कालिन एमाले जिल्ला सचिव रामबहादुर चौहान, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहितका नेता तथा कार्यकर्ता लागेका छन् । एमालेले समाजवादीमा गएका जिल्ला कमिटी, पालिका, वार्ड कमिटी सदस्यहरुको ठाउँमा नयाँ सदस्य पदपूर्ति गर्दै पनि आएको छ ।
साथै अर्घाखाँचीमा विभाजनपछि अधिकांश स्थानिय नेता कार्यकर्ता कुनै पक्षमा नलागी बीच धारमा रहेका छन्। उनीहरुमध्ये कोको नेता कार्यकर्ता एसमा गए वा एमालेमै छन् भन्ने प्रष्ट हुन भेला आयोजना गरिएको बताएको देखिन्छ ।
उता नेकपा (एकीकृत समाजवादी) ले जिल्लाभर ६१ वटा वार्डमा एमालेले आयोजना गरेको कार्यकर्ता भेलामा नजान आफ्ना कार्यकर्तालाई सुचना जारी गरेको छ ।
यस्तै यसअघि जिल्लामा नेकपा (एमाले) छोडी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम लगायत शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाबाट निर्बाचित वार्ड सदस्य गोबिन्द प्रसाद पोख्रेल र शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीबाट निर्बाचित वार्ड सदस्य जिबलाल क्षेत्री, नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनी गाउँपालिका वार्ड नम्बर ३ का निर्बाचित वार्ड सदस्य ओमप्रकाश भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की निर्बाचित महिला सदस्य शुमित्रा मुखिया, बाँगीका एमाले वार्ड कमिटी अध्यक्ष समेत रहेका मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका वार्ड सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टीमा सन्धिखर्क स्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गरेका थिए ।
यस्तै एकीकृत समाजवादी अर्घाखाँचीले आगामी असोज २ गते शनिबार बिहान ११:३० बजे सन्धिखर्कको अन्नपूर्ण (पुरानो सन्ध्या) होटेलमा जिल्ला कमिटी रुपान्तरण तथा जिल्ला पार्टी कार्यालय शुभारम्भ कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रिय पोलिट ब्युरो सदस्य , नेपालकै पहिलो मार्क्सवादी अर्थसाश्त्री एवम् केन्द्रिय मोर्चा संगठन ईन्चार्ज डा . विजय पौडेल, नेकपा ( एकीकृत समाजवादी ) का युवा नेता राजु गुरुङ्ग लगायतका विशिष्ट अतिथिहरु आउने बताइएको छ ।
उता अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) को २०० सदस्यीय रुपान्तरण जिल्ला कमिटी बन्ने भएको छ । समानान्तर कमिटीका ७० जना एकीकृत समाजवादीमा विलिन भई अब २०० सदस्यीय जिल्ला कमिटी बन्ने भएको हो ।