एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ: एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल

काठमाडौं, असोज १ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद अझै एक साता विस्तार नहुने बताउनुभएको छ ।
मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एक साताभित्रमा सरकारले पूर्णता पाउने भन्दै भन्नुभयो, ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’
आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।
संघीय सरकारमा सामेल हुने मात्र नभई प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै भन्नुभयो, ‘सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ ।’
तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको र आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन सँगै जाने भन्दै नेपाले भन्नुभयो, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’
दक्षिणपन्थी भासमा डुबेको एमालेसँग भने गठबन्धन नहुने उहाँले प्रष्ट गर्नुभयो । एमसीसीका निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोध्नु परेको तर्क पनि गर्नुभयो ।
आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्ने र यो जनतालाई अल्मल्याउन गफ दिने पार्टी नभई यथार्थवादी राजनीति गर्ने पनि उहाँको भनाइ थियो । इमेज च्यानलमा समाचार छ ।