नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त, महासभाका लागि आजै न्युयोर्क जाँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त भएका छन्। 
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ अनुसार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन्।
उनको सपथ आजै अपरान्ह १ बजे राष्ट्रपति भवन शितल निवासमा हुनेछ।
देउवाले खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न आज बिहान राष्ट्रपति कार्यालयमापत्र पठाएर सिफारिस गरेका थिए।
उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए।
अर्थशास्त्रमा पिएचडी गरेका उनले केही समय कृष्णप्रसाद भट्टराईको सल्लाहकार पनि भएर काम गरेका थिए। उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन्।
आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका  प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ।
‘सकभर आजै बेलुका नभए भोलि बिहानसम्म मन्त्री खड्कासहितको टोली अमेरिका जाने तयारी छ,’ परराष्ट्र स्रोतले सेतोपाटीसँग भन्यो। परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाँदै छन्। सेतोपाटीमा समाचार छ ।