अर्घाखाँचीभर कडाईका साथ चाडपर्व लक्षित बजार अनुगमन शुरु


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, चुत्राबेसी लगायत सबै पालिकामा चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् ।
असोज १ गतेदेखि अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको हो । 
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । अनुगमन टोलीले आवश्यकताअनुसार  पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्ने बताइएको छ ।
यस्तै गृह मन्त्रालयले अर्घाखाँची जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।
नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर सचेतना कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ । 
दसैंमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।