सन्धिखर्कमा जिल्ला अदालतद्वारा बालबालिकाको अवस्था, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला अदालत अर्घाखाँचीले बालबालिकाहरुको अवस्था,समस्या र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार जिल्ला अदालत परिसर सन्धिखर्कमा आयोजित कार्यक्रममा उच्च अदालत लुम्बिनीका मुख्य न्यायाधिस शिबराज सुबेदीले बालबालिकाहरु घरपरिवारबाटै असुरक्षित हुँने बताए । आमा बुवाले दोस्रो विवाह गर्दा बालबालिका असुरक्षित हुँने न्यायाधिश सुवेदीको भनाई थियो । न्यायाधिश सुवेदीले बालबालिकाहरुले गल्ती गर्ने तर अपराध नगर्ने भन्दै बालबालिका सम्बन्धि महासन्धिको ऐनमा नेपालले समेत हस्ताक्षर गरिसकेको जानकारी दिए । उनले बालबालिकाहरुलाई असल नागरिक बनाउने कि अपराधी आजको मुख्य चुनौती भएको बताए । उनले जिल्लामा बाल सुधार गृहको आवश्यकता औल्याउँदै कानुनले अबलम्बन गरेको बाल सुधार केन्द्र निमार्ण गर्न जोड दिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले अझै बालविवाह बालश्रम नरोकिएको भन्दै बालश्रम शोषणको अन्त गर्न विभिन्न समयमा नगरपालिकाले अभियान चलाएको जानकारी दिए । उनले बाल विवाह, बालश्रमजस्ता सामाजिक कुसंस्कार अन्त्यको लागि राज्यले ठोस पहल गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बालबालिकाहरुको बिषयमा सबै फोरमहरुमा कुरा उठ्ने गरे पनि सरोकारवालाहरुले त्यति ध्यान नदिएको भन्दै आक्रोस ब्यक्त गरे । अर्घाखाँचीमा पछिल्लो समय बालबालिका माथि हुने श्रम शोषण र हिंसाका घटनामा कमी आएको समेत पौडेलले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले अहिले बालबालिकाहरुमा इन्टर्नेट गेमिंगमा कुलतमा फस्दै गएको बताए । उनले अभिभावकहरुलाई बालबालिकाहरुलाई प्रविधिको कुलतबाट टाढा राख्न सुझाव समेत दिए । उनले तेह्र बर्षका बालकले पाँच बर्षकी बालिका करणी गर्ने जस्ता घटना समेत हुँने गरेको तर्फ ध्यानाकर्षण गराउँदै अभिभावकलाई जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा सहायक जिल्ला न्याधिबक्ता निराजन शर्मा जिल्ला बारका अध्यक्ष बिजय कुमार खत्रीले समेत शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेब न्यौपानेले बाल न्याय र बाल इजलास,साहायक जिल्ला न्याधिबक्ता निराजन शर्माले बाल न्याय सम्बन्धि अनुसन्धान र अभियोजना बाल मनोबिज्ञ, पबित्रा भट्टराईले बाल न्याय सम्पादनमा समाबेसी र बाल मनोबिज्ञान को बिषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रम जिल्ला न्यायाधीश बासुदेब न्यौपानेको अध्यक्षता, प्रोबेशन शान्ता पन्थीको स्वागत र स्रेस्तेदार महेश खनालको संचालनमा सम्पन्न भएको थियो ।