गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिन अघि मात्र अर्घाखाँचीमा दुधको मुल्यमा वृद्धि भएपनि दुग्ध उत्पादन सहकारी समन्वय समिति अर्घाखाँचीले बढेको मुल्य नमान्ने भएका छन् । आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाका ५ वटा दुध व्यवसायीले दुधमा बढेको मुल्य नमान्ने घोषणा गरेका हुन् ।
जिल्लाका अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्रि वितरण सहकारी सन्धिखर्क, अर्घाखाँची डेरी उद्योग सन्धिखक, सितगंगा दुग्ध उत्पादन तथा बिक्रि वितरण सहकारी ठाडा, पाणिनी दुग्ध सहकारी र देउराली छुर्पी उद्योग पटौटीले मुल्य वृद्धि गर्दा कुनै समन्वय नगरेको भन्दै बढेको मुल्य नमान्ने जनाए । जिल्लाका हजारौं कृषकहरु आवद्ध भएका संस्थालाई थाहै नदिई केही व्यक्तिहरुले आफुखुशी गरेको मुल्यवृद्धि कार्यान्वयन गर्न नसक्ने उनिहरुले बताए । असोज ५ गते अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले वृद्धि गरेको मुल्यमा कुनै वैज्ञानिक मापदण्ड नरहेको र औचित्य नभएकाले बढेको मुल्य मान्य नहुने उनिहरुको भनाई छ ।
जिल्लामा उत्पादन भईरहेको दुधमध्ये दैनिक २५ सय लिटर दुध स्टोर गर्नुपर्ने, दुधको सिजन सकिन लागेकाले यस्तो अवस्थामा गरिएको मुल्य वृद्धि आफुहरुलाई मान्य नहुने संस्थाका अध्यक्षहरुको संयुक्त विज्ञप्तीमा भनिएको छ । यस्तो अवस्थामा दुधको मुल्य वृद्धि नभई गुणस्तर परिक्षण गर्ने, किसानको उत्पादनले बजार पाउने स्थिति निर्माण गर्नु पर्ने अहिले तड्कारो आवश्यकता रहेको उनिहरुको बताएका छन् ।
असोज ५ गते अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले प्रति लिटर १० रुपैंयाका दरले दुधको मुल्यमा वृद्धि गरेको थियो ।