अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीको वृक्षारोपण तथा तपाईको मास्क खोई कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार सन्धिखर्क, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीको वृक्षारोपण तथा तपाईको मास्क खोई कार्यक्रम सम्पन्न भएको हो ।
“एक प्रहरी एक विरुवा” र तपाईको मास्क खोई कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी कर्मचारी र मातहत ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु बाट समेत कार्यालयको जमिन र खाली सार्वजनिक जमिनमा टिक, टिमुर, कागती, अमला, तेजपत्ता, आँप, लिची, अम्बा लगायत विभिन्न जातका ३४१ वटा बोट विरुवा वृक्षारोपण गरिएको थियो ।
जिल्ला कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रमा रहेका बजार ईलाकामा अनिमानित ६०० पिस मास्क वितरण गरिएको छ ।