अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका विष्णु पौडेलले आफ्नो कार्यकाल भर अर्घाखाँचीमा अपराधिक घटनाहरु हुन नदिएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशको कार्यालय बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने गरि कुनै पनि कामहरु नभएको बताए ।
काम गर्ने सवालमा तोकिएको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र जवाहदेहीता प्रभावकारी रुपमा पुरा गर्न सके मात्रै राम्रो हुने उनले बताए । पौडेलले कुनै पनि विषयमा काम हुँदैछ भने त्यसको बारेमा पहिले नै सोचेर, समन्वय तथा छलफल गरेर अगाडी बढे कुनै पनि कुरा अप्ठ्यारो नहुनेमा जोड दिए ।
शान्ति सुरक्षा कायम गर्न आफू चनाखो रहने साथै समयअनुसार निर्णय लिई कार्यान्वयन गर्न सके कुनै पनि प्रकारको समस्या नहुँने विचार व्यक्त गरे । राम कुमार क्षेत्री को अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले अर्घाखाँची जिल्लामा रहँदा जनताले शान्ति सुरक्षाको महशुस हुने गरि काम गरेको बताउँदै आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
पौडेलले सबैको साथ सहयोगले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई देशभरका ७७ वटै जिल्लामध्ये अति उत्कृष्ट कार्यसम्पादन सहित प्रथम स्थानमा पुर्याउन सफल भएको बताए । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यलय बुटवलले अर्घाखाँचीमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पौडेललाई सम्मान समेत गरेको थियो ।