अर्घाखाँचीमा हालसम्म ९० प्रतिशत जनगणना सम्पन्न


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  । राष्ट्रिय जनगणना २०७८ अन्तरगत अर्घाखाँची जिल्लामा करिव ९० प्रतिशत गणना कार्य सम्पन्न भएको छ । 
गत कार्तिक २५ गते देखि शुरु भएको मुल जनगणना कार्य यही मंसीर ९ गते सकिदैछ । हालसम्म जिल्लाको करिव ९० प्रतिशत गणना कार्य सम्पन्न भएको जनगणना कार्यालय अर्घाखाँचीका जिल्ला जनगणना अधिकारी धन बहादुर विसीले जानकारी दिनुभएको छ ।
यसैबिच राष्ट्रिय जनगणना २०७८ को मुल जनगणनाको क्रममा सत्य तत्थ्य तथ्यांक आओस भनेर जिल्ला जनगणना कार्यालय अर्घाखाँचीले नियमित रुपमा अनुगमन तथा निरिक्षण समेत गरीरहेको कार्यालयले जनाएको छ । सोही क्रममा केन्द्रीय तथ्यांक विभागबाट अनुगमनको लागि जिल्लामा आउनु भएका उपसचिव शिवराज न्यौपाने सहित जिल्ला जनगणना अधिकारी धन बहादुर विसी र सहायक जिल्ला जनगणना अधिकारी दिलिप कुमार केसी लगायतको कार्यालयको टोलीले आईतवार पाणिनी गाउँपालिकाको वडा नं. ७ र ८ (अड्गुरी र पाली) मा अनुगमन गरेको सहायक जिल्ला जनगणना अधिकारी केसीले बताउनु भयो । अनुगमनको क्रममा गणनाकार्य गर्दा देखिएका त्रुटीहरु सच्चाउन र गणकहरुलाई फिल्डमा परेको समस्याको बारेमा जानकारी लिइएको केसीले बताउनु भयो ।
यता जनगणनाको क्रममा कही कतै गणना गर्दा घरपरिवार छुट हुन गएमा, जनप्रतिनिधि, बुद्धिजीव, समाजसेवी, संचारकर्मीलगायत सम्पूर्णले समयमै अर्थात यही मंसीर ९ गते अगावै जिल्ला जनगणना कार्यालय अर्घाखाँचीमा जानकारी गराइदिनुहुन जनगणना कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।