अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको नौलापानीका हर्नेया पीडित श्यामलाल नेपालीको काठमाडौं स्थित वीर अस्पतालमा निशुल्क उपचार शुरु भएको छ ।
अर्घाको नौलापानीका हर्नेया पीडित ४९ बषिय श्यामलाल नेपालीको काठमाडौं स्थित वीर अस्पतालमा निशुल्क उपचार शुरु भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष चासोमा पेटमा पानी भरिने एक खालको रोगबाट १३ वर्षदेखि ग्रसित नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।
पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा श्यामलालको उपचारका लागि विशेष अभियान नै सञ्चालन गरेका थिए । उपाध्यायको सक्रियतामा नेपालीलाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याउने काम भएको थियो । उपाध्यायको पहलमा करिब साढे ३ लाख सहयोग जुटाइएको बताइएको छ । एसाइटिस नामक रोगका कारण नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा थिए ।
मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीका अनुसार ‘अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निशुल्क हुनेनेगरी उहाँको उपचार भैरहेको छ ।’ उनको अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छ । कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भैरहेको चिकित्सकहरुले जनाएका छन् ।