सन्धिखर्कमा एकीकृत समाजवादीले मंसिर १८ गते विशाल सभा गर्ने, माधव नेपाल आउने | २० हजार कार्यकर्ता उतार्ने तयारी


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आगामी मंसिर १८ गते नेकपा (एकीकृत समाजवादी) ले जिल्ला स्तरिय विशाल सभा तथा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । 
सन्धिखर्कमा आगामी मंसिर १८ गते शनिवार एकीकृत समाजवादीले जिल्ला स्तरिय सभा तथा कार्यकर्ता प्रशिक्षण गर्ने भएको हो । विशाल सभा तथा कार्यकर्ता प्रशिक्षणमा प्रमुख अथिती पार्टी अध्यक्ष एवम् पुर्व-प्रधानमन्त्री माधव कुमार नेपाल आउने भएका छन् । 
एकीकृत समाजवादी अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार, माधव नेपाल आउने आउने उक्त कार्यक्रममा जिल्लाभरबाट २० हजार कार्यकर्ता सन्धिखर्कमा उतार्ने भएको छ । यसको लागि जिल्लाभर व्यापक तयारी गरिरहेको पनि बताइएको छ । एमालेले भन्दा ठुलो कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।  
एमालेबाट टुक्रिएर नयाँ पार्टी गठन भएपछि एकीकृत समाजवादीले पहिलो पटक अर्घाखाँचीमा ठुलो सभाको आयोजना गरेको छ ।