शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा नेकपा एमाले शितगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ ।
प्रथम पुर्ण बैठकलाई ठाडामा सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
उहाँले अब मुलुकको निकास निर्वाचन भएको भन्दै हरेक खालका चुनौती परास्त गर्न नेकपा एमाले तयार हुनुपर्ने बताउनुभयो ।
परमादेश बाट निर्मित बर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नुको सट्टा महंङ्गी,भ्रष्टाचार ,कालोबजारी र अनियमितता बढाएको भन्दै उहाँले अहिले सरकारमा भएका धेरै दलहरु निर्वाचन पछि बत्ती बालेर खोज्नुपर्ने अबस्था आउने दाबी गर्नुभयो । केही थान मन्त्रीको निम्ति कम्युनिस्ट बिचार छोडेर माधव समूह प्रतिगामी कित्तामा गएको भन्दै उहाँले भुलबस बाटो बिराएका कार्यकर्ता लाई मुलघर नेकपा एमालेमा फर्कन आग्रह गर्नुभयो ।
अघिल्लो सरकारमा लुम्बिनी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री रहनुभएका आचार्यले नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेट र बिकासका आयोजनाहरुमा भारी कटौती गरेर बर्तमान सरकारले जनतामाथि ठुलो घात गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका सचिव तोजबहादुर रायमाझी र उपसचिव प्रेमनारायण गैरेले नेकपा एमालेको अजय तागतका वीच कुनै पनि प्रतिगामी गठबन्धन टिक्न नसक्ने चेतावनी दिनुभयो ।
नेकपा एमाले शीतगंगा नगरकमिटीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता ,उपाध्यक्ष संजय रानाको स्वागत मन्तव्य र सचिव ऋषि घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष कासिराम आचार्य,जिल्ला कमिटीका सदस्य भिम के.सी.,गोबद्धन थापा,तिलक भाट,ऋषि रेश्मी,राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भेषराज क्षेत्री लगायत बक्ताहरुले मन्तव्य राख्दै नेकपा एमाले अब जनताको घरघरमा जानुपर्ने बताउनुभयो ।
बैठकले पार्टी संगठन सुदृढीकरणको निम्ति एक महिने कार्ययोजना निर्माण गर्नुका साथै नगरकमिटीका सदस्यको कार्य विभाजन ,विभिन्न बिभाग हरुको गठन समेत गरेको छ ।