सन्धिखर्कमा एकीकृत समाजवादीको बृहत कार्यकर्ता भेला सम्पन्न | अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको कुरा मिलिसक्यो: नेपाल (भिडियो, फोटो सहित)


बसन्त खड्का, विनोद श्रेष्ठ | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज शनिवार एकीकृत समाजवादी जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा बृहत कार्यकर्ता भेला सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिती पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।
‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौं,’ नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं । चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’ उनले अर्घाखाँचीमा उपचुनाव गर्ने कि एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको बताए ।
अर्घाखाँचीमा एमाले उम्मेदवारलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन कुरा मिलिसकेको नेपालले दाबी गरे । संविधान कुल्चिएर प्रतिगामी दक्षिणपन्थी बाटोतिर लाग्ने ओली एमालेको भविष्य अब नरहने उनको भनाइ थियो । उनले अर्घाखाँचीमा पनि गठबन्धन बलियो बनाउने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘संघ र प्रदेश सरकारबाट बढारिएको एमालेलाई अब आउँदो चुनावमा पत्तासाफ हुन्छ र सूर्यमा ग्रहण लागिसक्यो, काम लाग्दैन,’ नेपालले भने, ‘अब कलम चम्किन्छ । जे गर्छ कलमले गर्छ ।’
केपी ओलीले चितवनमा कुम्भ मेला गरेर तमासा देखाएर जनताको बहुदलीय जनवादको माला जपेर जबजलाई नारायणी नदीमा बिसर्जन गरेर काठमाडौ फर्केको आरोप नेपालले लगाए । आफूसहित अन्य पदमा उम्मेदवारी दिनेलाई मत नदिन भन्न लगाएर हरिबिजोग गराएको उनको टिप्पणी थियो ।
कार्यक्रममा नेकपा समाजबादी केन्द्रिय सचिब तथा लुम्विनी प्रदेश इन्चार्ज भागबत विश्वासी लुम्विनी प्रदेश अध्यक्ष भेटमणि चौधरी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर भुसाल केन्द्रिय सदस्य तथा सह ईन्चार्ज पिताम्बर सारु लगायतका नेताले कार्यक्रममा मन्तब्य राख्दै अबको चुनाबमा एमालेको पत्तासाफ हुने बताउदै कार्यकर्तालाई समाजबादी पार्टीको लक्ष्य उदेश्यलाई गाँउ गाँउ बस्ती बस्तीमा लैजानको लागि आग्रह गरेका थिए ।
कार्यक्रम नेकपा समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सचिब युबराज पौडेलको सञ्चालन उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला अगुवा कार्यकर्ताको व्यापक रुपमा उपस्थिति रहेको थियो ।