शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको लुम्बिनी प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले मानव अधिकारको पुर्ण प्रत्याभूतिको निम्ति सबै पक्ष सचेत हुनुपर्ने बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र( ईन्सेक) द्वारा सन्धिखर्कमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै जनताको माग र विश्व परिवेशलाई आत्मसाथ गर्दै चौतर्फी बिकासको निम्ति अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका नेता समेत रहनु भएका घिमिरेले द्वन्द्वकालमा जस्तो मानव अधिकार उलंघनका गम्भीर घट्ना अहिले नभए पनि एक वा अर्को रुपमा मानव अधिकार उलंघन गर्ने काम भैरहेको गुनासो गर्नुभयो । उहाँले मानव अधिकारको ग्यारेन्टीको निम्ति सबै क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा समेत प्रकट गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल वार एशोशियसनका पुर्व अध्यक्ष केवी भुसाल ,प्रकाश सचेतन समुह( प्राग) का अध्यक्ष प्रेमनारायण गैरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली र सिर्जन शिल अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले मानव अधिकारका उलंघनका दोषीहरुले उन्मुक्ति पाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँहरुले बिगतका कहालिलाग्दा दिनहरूको स्मरण गर्दै पहिले र अहिलेका मानव अधिकार उलंघनका घट्नामा फरक आएको भन्दै पुर्ण रुपमा शन्तोष लिने अबस्था भने नरहेको धारणा राख्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका प्रतिनिधि कुलबहादुर नेपालीको अध्यक्षता,नेपाल पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकालीको संचालन र गैर सरकारी संस्था महासंघका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भोजबहादुर गन्धर्व ,संयुक्त दलित अधिकार कर्मी सञ्जालका संयोजक विष्णु परियार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ लगायतका संस्थाहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।