अर्घाखाँचीका सबै पालिका, वार्ड, स्वास्थ्य, विद्यालयमा अब टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै स्थानीय तहका कार्यालयमा सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
श्री शान्ति माध्यमिक विद्यालय बाँगीका प्राथमिक तहका शिक्षक शिक्षिकाहरु आधारभूत कम्प्युटर तालिम लिदै । तस्बिर: जय बहादुर रोकाय

जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,  पाणिनी गाउँपालिका  र छत्रदेव गाउँपालिकाका सबै कार्यालयहरुमा नेपाल टेलिकमले टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।
वार्ड कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ ।
त्यस्तै स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाका लागि प्रयोग हुने अनलाइन एप्लिकेसनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउनेछ । अब कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन गरिने छ । 
साथै हाल भीस्याटमार्फत भ्वाइस सेवा मात्र उपलब्ध भइरहेका स्थानमा दूरसञ्चार सेवा प्रदायकसमेतको सहकार्यमा मोबाइल ब्रोडब्यान्ड सर्भिसलगायतका सेवा सञ्चालन गर्ने पनि बताइएको छ ।