बिष्णु खनाल
चुत्रावेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ चुत्रावेसी बजारमा रहेका खाद्य पसलमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बिहिवार अनुगमन गरिएको छ ।
कार्यालयको वार्षिक कार्यक्रम अनुसार वाणिज्य फर्मअन्तर्गतका चुत्रावेसी र भक्तिटोलाका १९ वटा खाद्य पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलहरुबाट म्याद खुज्रिएका अखाद्य वस्तु बरामद गरिएको छ । उक्त पसलहरुबाट आटा, गोल्डी पाउडर–मसला, बेसन, स्प्राइट, किसमिस, ठुलो खालको भुजा, प्याकेट वाला चिउरा, सुर्तीजन्य पदार्थ, चुरोट, नमकिन, सुजी लगायतका म्याद गुज्रिएका अखाद्य वस्तुहरु बरामद गरिएको उद्योग अधिकृत सन्तोष खनालले बताउनुभयो । साथै अनुगमनका क्रममा पसलनै दर्ता नगरि सञ्चालन गरेका, पसल दर्ता भएपनि नविकरण नगरेका, मुल्यसुची नराखेका व्यापारिलाई पसल दर्ता गर्न, नविकरण गर्न र मुल्यसुची राख्न निर्देशन समेत दिएको उहाँले जानकारी दिनुभयो ।
बरामद भएका ती सामाग्रीलाई केही दिनपछि गर्ने अनुगमनमा संकलन भएका वस्तुसँगै डिस्पोज गर्ने कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताउनुभयो । बजारका अधिकांश खाद्य व्यापारीले म्याद गुज्रेका सामाग्री उपभोक्तालाई बिक्रि गरेको हुनाले अनुगमन कार्यलाई तीव्रता दिने उहाँको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका खरिदार पोमनारायण कुँवर, सन्धिखर्क नगरपालिकाका नारायण खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका तेजविक्रम धामी, प्रहरी नायव निरिक्षक ठाकुर प्रसाद थारु, पत्रकार बिष्णु खनाल लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।