अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानिय तहले निकट भविष्यमा खोप प्राप्त गर्ने ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकाको पहिचान र सूची तयार गर्ने भएका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले निकट भविष्यमा खोप प्राप्त गर्ने ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकाको पहिचान र सूची तयार गर्ने र उपलब्ध हुनासाथ लगाउने तयारी गर्ने भएका हुन् ।
यस्तै जिल्लाका स्थानीय तहको स्वास्थ्य केन्द्रमा सातै दिन कोरोना भाइरसविरुद्धको र एन्टिजेन परीक्षण सञ्चालन हुने भएको छ । स्थानीय तहको स्वास्थ्य केन्द्रमा सातै दिन न्यूनतम १२ घण्टा सञ्चालन हुने गरी कोभिड–१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षण सञ्चालन हुने छ ।
यस्तै सार्वजनिक स्थानमा वा सार्वजनिक सेवा प्रदान गर्दा खोप कार्डलाई प्रोत्साहन गर्ने तयारी पनि गर्ने भएका छन् ।
उता जिल्लामा १८ वर्ष माथिका लक्षित जनसंख्या १ लाख ३३ हजार ६ सय ५५ जनामा अहिलेसम्म १ लाख ३ हजार ३ सय ५० जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ७७.५५ प्रतिशत हो । यस्तै ८७ हजार ८ सय ८४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । जुन ६९.५४ प्रतिशत हो ।
यस्तै जिल्लामा ३० हजार ३ सय ५ जनाले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ । भने ४५ हजार ७ सय ४४ जनाले दोस्रो मात्रा कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी छ ।
साथै २९ हजार ९४ जनाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । अर्घाखाँची जिल्लामा जम्मा २ लाख १८ हजार ५ सय ९४ मात्रामा खोप आएको थियो ।
यस्तै जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।
जिल्लामा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाइसकेकालाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अग्र पंक्तिमा खटिने सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।
साथै ६० वर्ष माथि र पूर्ण खोप लगाएका सबैलाई तेस्रो बुष्टर खोप लगाउन शुरु गरिने भएको छ ।