अर्घाखाँचीमा राष्ट्रिय परिचय वितरण संकलन र मतदाता नामावली संकलन कार्य स्थगित


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा राष्ट्रिय परिचय वितरण संकलन कार्य र मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट हुँदै आएको राष्ट्रिय परिचय वितरण संकलन कार्य र निर्वाचन कार्यालयबाट गरिदै आएको मतदाता नामावली संकलन कार्य भोली शुक्रवारबाट स्थगित हुने भएको हो ।     
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार राष्ट्रिय परिचय वितरण संकलन कार्य र मतदाता नामावली संकलन कार्य गर्दा माक्स खोली फोटो लिनुपर्ने, भिडभाड र औठाछाप लगाउनु पर्ने हुँदा हालका लागि स्थगित गरिएको बताइएको छ । 
उता जिल्ला प्रशासनमा सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य गरिएको छ । 
जिल्ला प्रशासनमा गत माघ ७ गतेदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको  कार्ड अनिवार्य गरिएको हो ।
सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।  
उता जिल्ला प्रशासन अर्घाखाँचीले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आलोपालो दिन शुरु गरेको छ । 
प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । 
यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।

अन्य समाचारहरु