अर्घाखाँची आफ्ना प्रिय नेता दुमनसिंह थापाको निधनले शोकमा डुब्यो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको निधनले शोकमा डुबेको छ ।
एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आईतवार साँझ ७ बजे  ६२ बर्षको अल्प आयु उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचारको क्रममा भएको निधनले जिल्ला शोकमा डुबेको हो । 
एमाले नेता प्रेम नारायण गैरे भन्छन्; “दुमन थापा अर्घाखाँची जिल्लाको एक असल साहसिक र इच्छाशक्ति भएको राजनीतिक अभिभावक हुनुहुन्थ्यो । अर्घाखाँची जिल्लाको पछिल्लो बिकासमा उहाँको असाध्यै ठूलो योगदान रहेको छ । खास गरि दक्षिणखाँचीका जनताले  त दुमन थापा आफूहरूको भगवान नै भन्ने गर्दथे”। अल्प आयुमा भएको अकल्पनीय निधनले जिल्ला शोकमा डुबेको छ। अर्घाखाँचीबासीहरुको आशाको किरणमा कालो बादलको धब्बा लागेको छ “
अब जनताका लोकप्रिय बिकसप्रेमी दुमन थापाको भौतिक शरीर कहिल्यै देख्न नपाउने भएपनि जिल्लाबासीको मनमा उनी सधै अटल रहनेगरी बिदा भएका छन् ।
विजयी भएपछि दुमन थापा । – अर्घाखाँचीडट्कम २०७० म‌सिर ७, शुक्रवार
उता एकीकृत समाजवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले थापाको निधनले आफु स्तब्ध भएको बताएका छन् । उनले लेखेका छन्; “हाम्रो पार्टी नेकपा(एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन आयोग सदस्य तथा संविधानसभा सदस्य कमरेड डा. दुमनसिंह थापाको अप्रत्यासित दु:खद निधनको खबरले मलाई स्तब्ध बनाएको छ । दु:खको यस घडिमा कमरेड डा. दुमनसिंह थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
थापालाई कोरोना संक्रमण भएको थियो । साथै ३ दिन अगाडि मृगौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतका बिरामीका कारण थापालाई काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचार गरिरहेको थियो ।  थापाको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो । उनी ३ वर्षदेखि बिरामी थिए  । 
नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए ।   
दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको, एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो । 
२०७० साल अघि उनी जिल्लामा आयआर्जन कार्यक्रममार्फत सबै गाउँमा कृषि उद्यम, खेतीप्रणालीमा सुधार, तरकारी खेती गर्ने तरिका लगायतका कार्यक्रम सञ्चालन गरेका थिए ।
परियोजनामार्फत उनले जिल्लाको नरपानी, धातीवाङ, अर्घा धरमपानीलगायतका अधिकांश गाउँमा खानेपानी योजना सञ्चालन गरेर स्थानीयको घर–घरमा खानेपानीका धारा जडान गरेका थिए । उनले खानेपानी, विभिन्न भवन निर्माण, आयआर्जन, महिला उद्यम सम्बन्धी करोडौंको परियोजना सञ्चालन गरेका थिए । यही लोकप्रियताका कारण थापाले संविधानसभाको निर्वाचनमा कांग्रेस नेतृ पुष्पा भुसाललाई पराजित गरेका थिए ।
एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए । विकास निर्माणमा जिल्लामा ठूलो योगदान गरेका थापाको निधनले पाटीलाई ठूलो क्षति भएको समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताए । थापा जिल्लामा बौद्धिक व्यक्तिको रुपमा परिचित थिए ।
उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए । दुमन थापा अमेरिकी पूर्वराष्टपति कार्टर सेन्टरको नेपाल प्रतिनिधि भएर नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको सहजकर्ता समेत भएको एमाले जिल्ला नेता प्रेम नारायण गैरेले बताए ।
नेकपा एमालेले उम्मेदवार दर्ता गराउन गरेको जुलुस ।- अर्घाखाँचीडट्कम २०७० आश्विन १७, विहीवार

अन्य समाचारहरु