अर्घाखाँचीबाट निर्वाचित संविधान सभा सदस्य दुमनसिंह थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि भएको छ ।
 
संविधान सभा सदस्य दुमन सिंह थापाको आज सोमवार बिहान ११ बजे हिन्दु परम्परा अनुसार पशुपतिस्थित आर्यघाटमा विद्युतीय शवदाह गृहमा अन्त्येष्टि भएको हो ।
थापाका छोरा तोरन थापा र उहाँकी धर्म पत्नी गिता थापाले दागबत्ती दिएका थिए । 
युवा नेता सुशिल भट्टराईले दिएको जानकारी अनुसार  दाहसंस्कारमा नेपाल   नेकपा एकीकृत समाजबादीका केन्द्रिय महासचिव डा. बेदुराम भुसालले पार्टीको झन्डा ओडाउनु भएको थियो। भने डा. थापाको शबमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका केन्द्रिय सदस्य मोहन गौतम, समाजबादी पार्टीका पोलिट्ब्युरोका नेता सासदहरुको उपस्थिति रहेको थियो । यस्तै मेघा बैक लिमिटेडका अध्यक्ष भोज बहादुर शाह, बैकका संचालकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,  जिल्लाबासीहरु उपस्थिति रहेको थियो । 
कोभिडको कारण दाहसंस्कारमा नेपाल आर्मीको गाडीमा शब पशुपति लगिएको थियो । 
एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आईतवार साँझ ७ बजे ६२ बर्षको अल्प आयु उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचारको क्रममा भएको निधन भएको थियो ।
थापालाई कोरोना संक्रमण भएको थियो । साथै ३ दिन अगाडि मृगौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतका बिरामीका कारण थापालाई काठमाडौंको हेम्स हस्पिटलमा सघन  उपचार गरिरहेको थियो ।  थापाको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो । उनी ३ वर्षदेखि बिरामी थिए  । 
नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए ।   
दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको, एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो । 
२०७० साल अघि उनी जिल्लामा आयआर्जन कार्यक्रममार्फत सबै गाउँमा कृषि उद्यम, खेतीप्रणालीमा सुधार, तरकारी खेती गर्ने तरिका लगायतका कार्यक्रम सञ्चालन गरेका थिए ।
परियोजनामार्फत उनले जिल्लाको नरपानी, धातीवाङ, अर्घा धरमपानीलगायतका अधिकांश गाउँमा खानेपानी योजना सञ्चालन गरेर स्थानीयको घर–घरमा खानेपानीका धारा जडान गरेका थिए । उनले खानेपानी, विभिन्न भवन निर्माण, आयआर्जन, महिला उद्यम सम्बन्धी करोडौंको परियोजना सञ्चालन गरेका थिए । यही लोकप्रियताका कारण थापाले संविधानसभाको निर्वाचनमा कांग्रेस नेतृ पुष्पा भुसाललाई पराजित गरेका थिए ।
एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए । विकास निर्माणमा जिल्लामा ठूलो योगदान गरेका थापाको निधनले पाटीलाई ठूलो क्षति भएको समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताए । थापा जिल्लामा बौद्धिक व्यक्तिको रुपमा परिचित थिए ।
उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए । दुमन थापा अमेरिकी पूर्वराष्टपति कार्टर सेन्टरको नेपाल प्रतिनिधि भएर नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको सहजकर्ता समेत भएको एमाले जिल्ला नेता प्रेम नारायण गैरेले बताए ।  


अन्य समाचारहरु