अर्घाखाँचीमा मतदाताको संख्या १६९, १७६ जना | ४२,४५९ जना थपिए


भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा  ४२ हजार मतदाता थप भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख ६९ हजार एक सय ७६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये पुरुष ८४ हजार ६ सय ३३ र महिला ८४ हजार ५ सय ४३ रहेका छन । जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख २६ हजार सात सय १७ जनाले नाम दर्ता गराएका थिए ।
निर्वाचन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लामा कुल ४२ हजार ४ सय ५९ जना थप भएका हुन् ।
यो संख्या जिल्लाभित्र सङ्कलन गरिएका मतदाताहरूको मात्रै भएको र बाहिरी जिल्लामा बसेर नाम दर्ता गराएकाहरूको विवरण समावेश नभइसकेका कारण अन्तिम नामावली प्रकाशन गर्ने बेलामा संख्या तलमाथि हुन सक्ने निर्वाचन कार्यालय अर्घाखाँचीका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।
“यो तथ्यांक नै अन्तिम तथ्यांक होइन । बाहिरी जिल्लाबाट नाम दर्ता गराएकाहरूको नाम पनि सर्भरबाट एकीकृत गर्नुपर्ने हुन्छ । कसैको मृत्यु भएको छ भने हटाउनुपर्छ । यी सबै कुरा फिल्टर गर्ने काम अहिले चलिरहेको छ ।’ बसाई सरेर गएका तथा मृत्यु भएकाहरूको निधो गर्नका लागि विवरणहरू वडामा पठाएर रुजु गरेपछि मात्र आधिकारीक तथ्याङ्क आउने निर्वाचन कार्यालय अर्घाखाचीका सुचना अधिकारी रबि अर्यालले जानकारी दिए ।
यस्तै अर्घाखाँचीमा रहेका बाहिरी जिल्लाका मतदाताको संख्या ३७ जना रहेका छन् ।

अन्य समाचारहरु