अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका गाउँहरुमा झण्डै एक दशकअघिसम्म हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ ।
जिल्लामा टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए । भारत लगायत समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त, सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे । कहिले हुलाकी आउलान् र, छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको स्थानियबासी बताउन्छन् ।
करिव एक दशक अगाडीसम्म हुलाकमा काम भ्याई नभ्याई हुन्थ्यो । चिठीका माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो । प्रबिधिको प्रयोग भएको थिएन । तर अहिले इन्टरनेट, मोबाइल, इमेल, वेबसाइट जस्ता प्रविधिको विकासले हुलाक कार्यालय सुनसान बनेको हो । सञ्चार–प्रविधिलाई पछ्याउन नसकेपछि हुलाक कार्यालय कामविहीन बन्दै गएको देखिन्छ ।
यस्तै प्रविधिको युगमा पनि अझै आफ्ना सेवालाई विविधीकरण गर्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठी बोकेर जनतालाई सेवा पु¥याउने कार्य मात्रै हुलाकवाट भैरहेको छ । खबर आदानप्रदान गर्न मिल्ने इमेल, इन्टरनेटको प्रयोग र विस्तारसँगै अब चिठी लेख्नलाई कापी र कलम खोजिराख्नुपर्दैन । नयाँ प्रविधिले भौगोलिक दूरी मेटिदिएको छ । व्हाट्सएप, स्काइप, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जाल र मोबाइलबाट छिनछिनमा भर्चुअल भेटघाट, कुराकानी भइरहेको हुन्छ । यिनै प्रविधिले हुलाकको महत्त्व विस्थापन गर्दैछ र हुलाक सेवा प्रयोग कम हुँदै गएको छ । हुलाकलाई समयानुकूल बनाउन सरोकार निकाय उदासीन बन्दा अहिले यसको काम सरकारी कागजात ओसारपसार गर्ने र केही कुरियर सेवा दिनमा सीमित छ ।
अर्घाखाँची जिल्लामा हाल सरकारी चिठी, व्यक्तिगत पार्सल, सामान्य सामान, वस्तु र पत्रपत्रिका आदान प्रदान बाहेक अन्य सेवा सञ्चालनमा छैनन् । विगतमा सेवाग्राहीको भीड लाग्ने हुलाक पछिल्लो समय सुनसान हुदै गएको छ । हिजोआज पत्रपत्रिका आउने क्रम घटेको र कार्यालय प्रयोजनका कागजपत्र नियमित रुपमा आउने गरेको जिल्ला हुलाकका कर्मचारी बताउन्छन्न । भने कार्यालयमा सेवाग्राहीको उपस्थिति कम हुँदै जाँदा कर्मचारीलाई पनि काममा व्यस्तता छैन । अहिले हुलाकघर चिठ्ठीपत्रविहीन जस्तै छ ।