अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो एक दशकमा खोलाको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन र बिक्री आकर्षक व्यवसायका रूपमा स्थापित भएको छ। अहिले खोलाजन्य पदार्थको बर्सेनि करोडौ कारोबार भइरहेको अनुमान छ। अर्घाखाँचीका खोलानालाबाट मापदण्ड विपरीत धेरै क्रसर उद्योगले जथाभावी गिट्टीढुङ्गा दोहन गरिरहेका छन्।
यस्तो लाभको ठूलो हिस्सा ठेकेदार र राजनीतिक नेतृत्वले लिंदै आएको छ। अधिकांश क्रसर व्यवसाय पहुँचवाला ठेकेदार र स्थानीय नेताको नियन्त्रणमा छ। तिनले मापदण्ड विना आफूखुशी नदीबाट यस्ता सामग्री झिक्दै बिक्री गरिरहेका छन्। बरु, खोलाजन्य पदार्थको अनियन्त्रित दोहनबाट सिर्जित प्राकृतिक विपत्तिको मारमा जिल्लाभरिका सर्वसाधारण पर्ने गरेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गागिट्टी निकालिएका कारण जिल्लाका कैयौं भूभागमा डुबान, बाढी, पहिरो लगायत समस्या बढ्दै गएका छन्।
उता सञ्चालित सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत अवैध सञ्चालनमा रहेको पाइएको छ ।
जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो ।
बालुवा प्रशोधन तथा क्रसर उद्योगहरुले ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लेखित दुरीसम्बन्धी कुनै पनि मापदण्ड पूरा गरेका छैनन् । जिल्लामा चलेका सबै क्रसर उद्योगहरु राजनीतिक दल, कर्मचारी, ठेक्दारहरुको मिलिमतोमा संचालन हुँदै आएका छन् ।
उता नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले अहिलेसम्म कुनै अनुगमन गरेको देखिदैन ।
सन्धिखर्क लगायतका जिल्लाभर ठूलो परिणाममा अवैध क्रसरहरुले ढुंगा, गिट्टी र बालुवा निकाल्दा पनि सरोकार निकाय मौन छ।
अवैध तरिकाले खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन, ओसारपसार गरी क्रसर उद्योगहरुले जंगलमा भण्डारण गर्नेे र आन्तरिक राजस्व कार्यालयबाट स्वीकृत नलिएका नक्कली भ्याट प्रयोग गर्ने गरेको स्थानीयहरुले अर्घाखाँचीडट्कमसँग गुनासो गरे । नदीजन्य पदार्थको दोहनबाट वार्षिक करोडौँ बढीको क्षति हुने गरेको स्थानीयहरु बताउँछन्।
जथाभावी उत्खनन र निकासी गर्न थालेपछि अर्घाखाँचीका अधिकांश गाउँहरु जोखिममा परेका छन्। भने मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न स्थानीयहरुको माग छ ।