कोरोना मुक्त अर्घाखाँची फेरि पुरानो लयमा फर्कियो | जताततै चहलपहल

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला  कोरोना मुक्त भएको छ । जिल्लामा  सक्रिय कोरोना संक्रमित शुन्य रहेको छ । 
कोभिड १९ को महामारीका कारण २ वर्षसम्म ठप्प जिल्ला पूर्ण रुपमा कोरोना मुक्त भएपछि जिल्ला फेरि पुरानो लयमा फर्किएको छ । यस्तै स्थानियबासीमा खुशीयाली छाएको छ । 
जिल्लाभरका उद्योग व्यापार फेरि बिस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन्। जिल्लामा गएको २ वर्ष यता बन्दाबन्दी वा निषेधाज्ञाका कारण व्यापार व्यवसाय लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएका थिए ।
यस्तै जिल्लामा गत फागुन २३ सोमवारदेखि सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। साथै  राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालनमा आएका छन् । 
अर्घाखाँची जिल्लामा होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको छ । 
सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर डान्स रेस्टुरेन्ट एन्ड बार, क्लबजस्ता व्यवसाय, होटल लगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न सकिने भएको हो । 
जिल्लामा कोरोना संक्रमितको संख्या ४९६४ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा २१८८  जना, भूमिकास्थान नगरपालिकामा ८०० जना,     शितगंगा नगरपालिकामा ५५३ जना, मालारानी गाउँपालिकामा ५८४ जना,  पाणिनी गाउँपालिकामा ५२७ जना  र छत्रदेव गाउँपालिकामा ३१२ जना संक्रमित रहेका थिए ।   
साथै जिल्लामा  ४८७० जनाले कोरोना जितेका थिए ।  जसमा सन्धिखर्क नगरपालिकामा २१५८   जना, भूमिकास्थान नगरपालिकामा ७८४  जना,  शितगंगा नगरपालिकामा ५३८ जना,   मालारानी गाउँपालिकामा ५६७ जना,    पाणिनी गाउँपालिकामा ५१५ जना   र छत्रदेव गाउँपालिकामा ३०८  जनाले कोरोनालाई जितेका थिए ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा ९४ जनाको ज्यान गएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका थिए ।
 शितगंगा नगरपालिकाको केन्द्र ठाडा । तस्बिर: बसन्त थापा छेत्री, अर्घाखाँचीडट्कम, २०७८ फाल्गुन २८, शनिवार

अन्य समाचारहरु