भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि ९६ मतदानस्थल तय गरिएको छ ।
मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका ६ वटा पालिकामा ९६ वटा मतदानस्थल तोकिएको हो । पाणिनी गाउँपालिकामा १४, मालारानी गाउँपालिकामा १२, छत्रदेव गाउँपालिकामा ११, भुमिकास्थान नगरपालिकामा १७, शितगंगा नगरपालिकामा २७ र सन्धिखर्क नगरपालिकामा १५ गरी जिल्लामा जम्मा ९६ वटा मतदान स्थल रहेको छन ।
निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका ६ वटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । साथै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस सहित ६ वटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रबि अर्यालले जानकारी दिए । उनका अनुसार फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइएको र ती निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिनेछ ।
निर्वाचन कार्यालयले माघ २४ गतेसम्म ८४ हजार ५ सय ४३ महिला र ८४ हजार ६ सय ३३ पुरुष गरी कूल १ लाख ६९ हजार १७६ जनाको विवरण निर्वाचन आयोगमा पठाइएको अर्यालले बताए ।