अर्घाखाँचीमा ८ सय ४६ म्यादी प्रहरी भर्ना गरिने | भोलिदेखि भर्ना खुल्दै

भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ८ सय ४६ म्यादी प्रहरी भर्ना गरीने भएको छ । 
स्थानीय तह निर्वाचन २०७९ का लागि आठ सय ४६ जना म्यादी प्रहरी भर्ना गरीने जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश खनालले समचारपोष्टलाई जानकारी दिए । 
भोलि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छनोटका लागि मापदण्ड समेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । 
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । 
छनोट प्रक्रिया भने चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन गरिने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

अन्य समाचारहरु