पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय

काठमाडौं, चैत १७ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने छ ।,’ प्रवक्ता कार्कीले भन्नुभयो ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आगामी स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय भएको जानकारी दिनुभयो ।
निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताउनुभयो । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो ।
त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ ।
‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।’
पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री देउवलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । गोरखापत्रमा समाचार छ ।