खनको श्री कालिका ने.रा. मावि लुटिपोखरीमा शिक्षक विदाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४, खन, लुटिपोखरी स्थित श्री कालिका ने.रा. माध्यमिक विद्यालयमा शिक्षक बिदाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विगत करिब ३३ वर्षदेखि श्री कालिका ने.रा. माध्यमिक विद्यालयमा अध्यापनरत मालारानी–३, खनदह निवासि शिक्षक श्री तिलकराम खनालले मिति २०७८ मंसिर ०१ गतेदेखि स्वेच्छिक अवकाश लिनुभएको हुँदा उहाँको सेवा निवृत्त जीवन सुखमय बितोस् भन्दै आज औपचारिक रुपमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
 
साथै मालारानी गाउँपालिका वडा नं. ४, खन निवासी  चन्द्र बहादुर सुनारद्धारा आफ्नो स्वर्गीय आमा तुलसा सुनार र स्वर्गीय श्रीमती जवुना सुनारको नाममा स्थापना गरेको तुलसा सुनार, जवुना सुनार अक्षयकोषबाट ४ जना दलित, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  रमेश पन्थीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष  गंगाराम खनालको विशेष आतिथ्यता, विद्यालयका प्रधानाध्यापक भुवन प्रसाद खनालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको आतिथ्यता, विद्यालय सहायक प्रधानाध्यापक  सूर्य कुमार खनालको स्वागत मन्तव्य र शिक्षक  प्रदीप खनालको सञ्चालनमा कार्यक्रम सु–सम्पन्न भएको हो । 
उक्त कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सम्वृद्धि खनाल, शिक्षक  माधव भुसाल, व्यवस्थापन समिति सदस्य  सरस्वती खनाल, वि.व्य.स. अध्यक्ष  गंगाराम खनाल, मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  रमेश पन्थी र विद्यालय प्रधानाध्यापक  भुवन प्रसाद खनालले स्वेच्छिक अवकाश लिनुहुने श्री तिलकराम खनाललाई सेवानिवृत्त जीवन सुखद र सफल  होस् भनी शुभकामना व्यक्त गर्नुका साथै अवकाश लिनुहुने पूर्व शिक्षक श्री तिलकराम खनालले आफ्ना भनाईहरु राख्नुभएको थियो ।